काठमाडौं, ५ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा–२ मा उम्मेदवारी दिनको लागि गोरखा पुगेको बाबुराम भट्टराईले आफूले उम्मेदवारी दिनुको कारण सुनाएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट आफूले उम्मेदवारी दिनुका प्रमुख ५ लक्ष्य÷आधारमा बाबुरामले बद्लिदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्नको लागि भनेका छन् ।
यस्तै, देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्नको लागि पनि आफ्नो उम्मेदवारी भएको बताएका हुन् ।
उनले जेन–जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्नको लागि आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन् ।
यस्तै, देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ–राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक–सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि आफ्नो उम्मेदवारीको अर्को कारण भएको उनले सुनाएका छन् ।
गोरखाको विकास–निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउनको लागि आफूले चुनावी प्रतिष्पर्धा गर्न लागेको बाबुरामको दाबी छ ।




प्रतिक्रिया