सञ्चारमन्त्री खरेलले दिए राजीनामा


काठमाडौं, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारी गरेका छन् । रास्वपाले खरेललाई ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने भएको छ ।

उनले राजीनामा पत्रमा आफू दलीय राजनीतिमा आवद्ध हुन लागेको उल्लेख गरेका छन् । ‘वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिमा छिर्नुअघि नै पदबाट राजीनामा दिने निर्णय लिएको छु,’– उनले राजीनामा पत्रमा भनेका छन् ।