बेनी (म्याग्दी), ६ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।
जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट ध्रुरव घिमिरेले उम्मेदवारी दिने भएका छन्।
पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसकेका छन् । मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लागेका श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य हुन् भने उनी विसं २०७९ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएका थिए ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिन लागेका भण्डारी पार्टीको जिल्ला उपसभापति हुन्े । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिन लागेका थापा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा होमिएका थिए । उनी अहिले पार्टीको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
रास्वपाबाट उम्मेदवार हुन लागेका मगर पार्टीको जिल्ला सभापति हुन् भने नेकपा (माओवादी)बाट उम्मेदवार बन्न लागेका घिमिरे पार्टीको पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज हुन् । एमालेबाट उम्मेदवार बन्न लागेका श्रेष्ठबाहेक अन्य चार जना पहिलो पटक चुनावमा होमिएका हुन् ।
यसपटक जिल्लामा दल गठबन्धन नगरिकन चुनावमा होमिएका छन् । आगामी निर्वाचनका लागि म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र छ । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । रासस




प्रतिक्रिया