चार पूर्व प्रधानमन्त्री चुनावी मैदानमा, सेफ जोनमा प्रचण्ड


काठमाडौँ, ६ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रेका छन् । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् ।

यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक दाहाललाई सहयोग गरेका थिए ।

विसं २०४८ सालको निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन् । पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिरिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।