एमालेको ११औं महाधिवेशनमा पोखरेल समूहमा भोट हाल्नेहरुलाई ओलीले टिकट दिँदा पक्षपातपूर्ण व्यवहार गरेः युवराज ज्ञवाली


काठमाडौं, ६ माघ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट वितरण गर्दा पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ११औं महाधिवेशनमा ईश्वर पोखरेल समूहलाई भोट हाल्ने र फरक मत राख्नेहरुलाई ओलीले किनारा लगाउने काम गरेको बताएका हुन् ।

‘अहिले चुनाव जित्नसक्ने सम्भावना भएका कतिपय साथीहरुलाई ११औं महाधिवेशनमा फरक मत राखेको हुनाले, फरक समूहमा भोट हालेको कारण टिकट नपाएको भन्ने नकारात्मक सन्देश गएको छ । ईश्वर पोखरेलको टिमलाई भोट हाल्नेहरुलाई किनारा लगाउन खोजियो,’– उनले भने ।

तलबाट सिफारिस भएका व्यक्तिहरु पनि कतिपय नपरेको, तलबाट अत्यन्त कम भोट प्राप्त भएका व्यक्तिहरुले टिकट पाएको, एकल सिफारिस भएका मान्छे पनि कतिपयले टिकट नपाएको उनले बताए । नेता ज्ञवालीले यस्तो प्रकारको क्रियाकलापले एमालेलाई फाइदा नपुग्ने बताए । ‘नेतृत्वले उचित किसिमले टिकट वितरणमा ध्यान दिनु्पर्थ्यो । त्यो भएन । यसले पार्टीलाई नोक्सान हुन्छ,’– उनले भने ।

एमालेको ११औं महाधिवेशनको तुषलाई ओलीले व्यवहारमा लागू गरेको, झालझेल र गुटबन्दीपूर्ण कामहरु भएको उनले बताए ।