रौतहट १ बाट उम्मेदवारी दर्ता गराएपछि पूर्व प्रधानमन्त्री नेपालले सुनाए चुनावी एजेण्डा


काठमाडौं, ६ माघ । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पुगेर मनाेनयन दर्ता गराएका हुन् ।

नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेको उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । यसअघिको निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सह-संयोजक नेपालले भने, ‘नेपाली जनताले भोग्दै आइरहेको गरिबी, बेरोजगारीलगायतका समस्या अन्त्य गर्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध गर्ने, युवालाई रोजगारी र सीप उपलब्ध गराउने, देशको अर्थतन्त्रलाई चलायमान बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ,’- उनले भने ।