कुलमान घिसिङले काठमाडौं ३ बाट दर्ता गराए उम्मेदवारी, को-को छन् प्रतिस्पर्धी ?


काठमाडौं, ६ माघ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि आज मनोनयन दर्ताको मिति तोकिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कुलमानले उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं ३ मा नेकपा (एमाले) बाट रामेश्वर फुयाल, नेपाली कम्युनिष्ट पार्टीबाट निरज लामा, कांग्रेसबाट दुजाङ शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डेलगायत चुनावी मैदानमा रहेका छन् ।

रास्वपासँगको सम्झौता कार्यान्वयन हुन नसकेपछि पूर्व उर्जामन्त्री घिसिङ उनेपाबाट चुनाव लड्न लागेका हुन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङ जनतामाझ लोकप्रिय मानिन्छन् । उनी पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।