काठमाडौं, ६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक बृत्तमा मात्रै नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जाको सञ्चार भएको बताएकी छन् । आज (मंगलबार) एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको र सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी हुन् ।
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएको पनि प्रधानमन्त्री कार्कीले बताएकी छन् । निर्धारित समयतालिकाभित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा प्रधानमन्त्री कार्कीले आभार व्यक्त गरेकी छन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको बताएकी छन् । रक्षा व्यवस्थामा कत्ति पनि सम्झौता नगरिने र सबै सुरक्षा संयन्त्रहरु उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
१६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारहरूको मनोनयन दर्ता हुनुलाई प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाणको रुपमा लिइएको बताएकी छन् । नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने कुरा आजको उत्साहले पुष्टि गरेको पनि उनले बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले दीगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई निर्वाचनमा सक्रिय र संयमताका साथ सहभागी हुन अपिलसमेत गरेकी छन् ।




प्रतिक्रिया