काठमाडौं, ७ माघ । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सकिएको छ । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नो उम्मेदवारी सुसंस्कृत राजनीतिका लागि रहेको बताए । देशको निकास खोज्ने हो भने पहिला देशको नीति बनाउनुपर्ने डा.बुढाथोकीको भनाइ छ ।
‘नैतिकवान राजनीति निर्माण गनुपर्छ, जब देशको निकास हामीले खोजिराखेका छौं भनेदेखि पहिला त देशको नीति बनाउने कुराहरुमा राजनीतिले महत्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यको नीति निर्माणमा सुसंस्कृत राजनीतिले महत्वपूर्ण भूमिका खेल्छ । सुसंस्कृत राजनीति निर्माण गर्ने मेरो अभियान छ,’– डा.बुढाथोकीले भने ।
विकास अर्थशास्त्रमा विद्यावारिधीसम्मको अध्ययन पूरा गरेको डा.बुढाथोकी आफूले गरेको अध्ययन अनुसन्धान आफ्नै गाउँ र जन्मथलोमा प्रयोग गर्नका लागि आफू राजनीतिमा होमिएको बताउँछन् । उनले आफ्ना अध्ययन, असन्धान राष्ट्र र मानव हितको लागि प्रयोग गर्न चाहेको बताए ।
‘रामेछाप विकास बहसदेखि समृद्ध रामेछापको अभियानमा म रामेछापसँग जोडिइरहेको, सामाजिक, मानवीय कर्महरुमा पनि जोडिइरहेको, मैले विकास अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) पनि हाँसिल गरेको हिसाबले, आफूले गरेको अध्ययन, अनुसन्धानलाई पनि आफ्नो गाउँ, जन्मथलोमा प्रयोग गर्नुपर्छ, मानवहितको लागि प्रयोग गर्नुपर्छ भन्ने हिसाबले रामेछापको सारथी बन्नका लागि आएको छु,’– उनले भने ।
उनले अहिले जनतामा चेतनाको स्तर बढेको र आफूलाई उनीहरुले माया गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिलेका जनतामा राजनीति चेतना बढेको छ, त्यो भनेको रामेछापको विकास र समृद्धिको लागि जो गाउँ, आफ्नो जन्मस्थान छोडेर विदेशिनुपर्ने बाध्यता छ । त्यो अवस्थालाई मुक्त गर्नुपर्ने हाम्रो दायित्व छ । ती व्यक्तिहरुलाई रामेछापमा ल्याएर उद्यमशीलता र उत्पादन अभिवृद्धि गर्ने अभियानमा मेरो भूमिका पनि छ । त्यसकारण पनि जनताले मलाई माया गर्नुहुनेछ भन्ने लागेको छ ।’
रामेछापवासी जनताको आवाजलाई जनसंवादमार्फत संसद्मा र राज्यको नीति निर्माणमा प्रयोग गर्ने पनि उनले बताए । ‘रामेछापवासीहरुको आवाजलाई अस्त्रको रुपमा लिएर यहाँका चुनौतिहरु समाधान गर्न श्रमशील र सिर्जनशील भएर लाग्ने छु,’– डा.बुढाथोकीले भने ।




प्रतिक्रिया