बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम


म्याग्दी, ७ माघ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा ‘पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्सालबीच मङ्गलबार पोखरामा कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको हो । चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने एक करोड लागत अनुमान गरिएका कार्यक्रमका लागि प्रदेश सरकारले ७५ लाख र गाउँपालिकाले २५ लाख लगानी गर्ने छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी सुन्तलाखेती हुने बाँसखर्कमा सिँचाइ समस्याको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले प्रदेश सरकारसँग प्रस्ताव गरेको कार्यक्रम छनोट भएपछि कार्यान्वयनका लागि सम्झौता गरिएको हो । बाँसखर्क भएर मल्लाजमा पानी लैजाने सिँचाइ योजनाको नहरभन्दा माथिको बगैँचामा पम्पिङ र तलमाथि दुवैतिर हरेक चार सयदेखि पाँच सय बोटका लागि १० हजार लिटर क्षमताको ट्याङ्की बनाएर स्थायी किसिमले सिँचाइको व्यवस्था मिलाउने योजना छ ।

समुद्र सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ मध्ये दुई सय परिवारले सुन्तलाखेती गरेका छन् । बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको वडाध्यक्ष जगबहादुर रोकाले बताए । रासस