म राजनीतिक चेत भएको इमानदार व्यक्ति हुँ, मधेशका किसानको समस्या समाधानका लागि मेरो उम्मेदवारीः ऋषि धमला (भिडिओसहित)


काठमाडौं, ७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका ऋषि धमलाले मधेशका जनताको समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार धमलाले मधेशका किसानले समयमा विउ–विजन र मल पाउन नसकेको, सिचाईँको अभाव रहेको, खेती लगाउनका लागि आकाशे पानीको भर पर्नुपरेको जस्ता समस्या रहेको बताए । ती समस्या समाधानका लागि आफू त्यस क्षेत्रका जनताको प्रतिनिधि बन्न चाहेको उनले बताए ।

‘मधेशमा न समयमा विउ पाउँछन्, न समयमा मल पाउँछन् । पानी परेन भने मधेशको जमिन फाट्छ । सिचाईँ छैन । त्यहाँको सिचाईँ, कृषिको लागि, मल र विउका लागि मैले ध्यान दिन्छु । मधेशको विकासको लागि मेरो उम्मेदवारी हो,’– उनले भने ।

साथै, आफू राजनीतिक चेत भएको इमानदार व्यक्ति भएको कारण पनि त्यहाँका जनताले मतदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले आफू भ्रष्टाचार विरोधी अभियान्ता पनि रहेको बताए । आफूले पत्रकारितामा रहँदा पनि भ्रष्टाचारको विरुद्धमा सडकमै उत्रिएर विद्रोह गरेको पनि स्मरण गराए ।

उनले भने, ‘यहाँका जनताले भोट हाल्नुपर्ने कारण– ऋषि धमला राजनीतिमा चेत भएको इमानदार व्यक्ति हो । दोस्रो कुरा भ्रष्टाचारविरोधी अभियानको मैले नेतृत्व गरेको छु । भ्रष्टाचारीहरुलाई कारबाही गर्नुपर्छ, सुशासन चाहिन्छ । राज्य संयन्त्रमा बस्ने मान्छेहरु किन भ्रष्ट भए भनेर मैले सडकमा आवाज उठाएको छु ।’

धमलाले आफूलाई मोबाइल चिह्नमा मतदान गरेर विजयी गराइदिनका लागि पनि निर्वाचन क्षेत्रका मतदातासँग अपिल गरे ।