काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी प्रचारप्रसारको लागि आफूले उम्मेदवारी दिएको सर्लाही–४ झर्ने भएका छन् । हिजो दिउँसो अवरेसम्म पनि टिकट वितरणमा व्यस्त हुनुपरेपछि आँफै उपस्थित् भएर आफ्नो मनोनयन दर्ता गर्न नपाएका थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति र जुलुशसहित थापाको उम्मेदवारी सो क्षेत्रबाट दर्ता भएको छ । यो क्षेत्रमा भर्खरै रास्वपा प्रवेश गरेका डा. अमरेशकुमार सिंह पनि चुनावी प्रतिष्पर्धामा छन् । अमरेशले गगन थापालाई पराजित गर्ने उद्घोष गरेका छन् । उनले थापालाई पराजित गर्न नसके आत्महत्या गर्ने घोषणा गरेका छन् ।
यसअघि रास्वपा प्रवेश गरेको दिन उनले बालेन शाह देशको प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्ने घोषणा गरेका थिए । सिंहले दिएका यस्तो अभिव्यक्ति आलोचित बन्न पुगेका छन् । कांग्रेस सभापति थापा मधेश झरेर पार्टीको गुमेको साख फर्काउने तयारीमा रहेको चर्चा छ । उनले सधैं जित्दै आएको काठमाडौं–४ मा युवा नेता सचिन तिमिल्सिनालाई उत्तराधिकारीको रुपमा अघि बढाएका छन् । थापा भोलि नै सर्लाही जाने तयारी भएको छ ।
तर, त्यसअघि उनी पार्टी मुख्यालय सानेपा जाने बुझिएको छ । उनीनिकट नेताहरुले पार्टी सभापतिमा निर्वाचित भएपछि उनी आधिकारिकतासम्बन्धी विवादको कारण सानेपा जान नचाहेकोमा अब निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतबाट समेत आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पक्षमा आएपछि भने पार्टी कार्यालय जाने पक्षमा पुगेका छन् ।
उनी भोलि पार्टी कार्यालयमा पुगेर पदभार ग्रहण गरेरमात्रै आफ्नो चुनावी क्षेत्रमा जाने बुझिएको छ । पार्टी कार्यालयमा प्रवेशको लागि प्रहरी प्रशासनले पनि सहजीकरणको लागि तयारी थालेको छ । पार्टीको आधिकारिकतासम्बन्धी उल्झन सल्टिनुअघि पार्टी कार्यालयमा देउवा पक्षधर नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । अब विवाद हल भएपछि थापा पार्टीका शीर्ष नेताहरु खासगरी देउवा पक्षधर नेताहरुसँग सल्लाह गरेर नै पार्टी अफिस जाने भएका हुन् । file photo




प्रतिक्रिया