बालेन शाहसँग भीजन नभएको ओलीको दाबी, उम्मेदवारमात्रै सिमित हुने टिप्पणी


काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ मा आफूसँग प्रतिष्पर्धामा उत्रिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग देश बनाउने कुनै भीजन नभएको दाबी गरेका छन् । उनले बालेन शाहले चुनाव नजित्ने बताएका छन् । हिजो उम्मेदवारी दर्ता गराएपछि आजबाट चुनावी अभियान थालेका ओलीले झापा–५ का युवा भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले बालेन शाहको झापामा कोही पनि नभएको भन्दै नयाँलाई सो क्षेत्रका जनताले नपत्याउने बताए । उनले भने,‘अहिले पनि यहाँ नयाँ भनेको सुन्छ, चिनेको जानेको छैन। बैंकले नोट छाप्दा धितो जमानीबिना छाप्दैन। यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन। भोलि खोज्न कहाँ जाने ? उहाँको यहाँ कोही पनि छैन। यहाँको उत्तरदायित्व केही छैन।’

उनले बालेनसँग विकाससम्बन्धी कुनै भीजन नै नभएको उल्लेख गर्दै महोत्तरीमा बालेनको घरअगाडि आफूले बाटो बनाईदिएको बताए । ओलीले भने,‘उनी राष्ट्रियस्तरमा भिजन भएको पनि होइन। उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने ? उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ। महोत्तरी ३ मटियारीबाट जनकपुर जाने बाटो मैले पुल हालिदिएको छु मैले। खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे। सबै भत्काउँछन् रे। कवाडीहरूले गरिखान पाउँदैनन् रे।’