युरोप–अमेरिका तनावः ट्रम्पको आर्थिक विवादमा प्रतिक्रिया


डाभोस (स्विट्जरल्यान्ड), ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक फोरममा अन्य सरकार र व्यापारिक नेतासँग सहभागी हुँदै छन् । फोरममा एक दिनअघि उनका विवादास्पद बयान र अमेरिका–युरोप बीचको तनावले आर्थिक जोखिम उत्पन्न गरेको थियो ।

वार्षिक कार्यक्रममा १३० देशका करिब तीन हजार उच्चस्तरीय सहभागीहरू तथा कार्यकर्ताहरू र पर्यवेक्षकहरू भेला हुने अपेक्षा गरिएको छ । ट्रम्पको भ्रमणलाई युरोपेली सहयोगीहरूले ग्रिनल्यान्डमा अमेरिकी दाबी र ल्याटिन अमेरिकामा भेनेजुएलाको तेल नियन्त्रण प्रयाससँग जोडेर चिन्तासँग हेरिरहेका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ट्रम्पको कर योजना ‘गल्ती’ भएको र विश्वासयोग्यतामा प्रश्न उठाएको बताए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले व्यापार ‘बाजुका’ मार्फत बदला लिन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको कर र ट्यारिफ योजनामा युरोपको ‘क्रोध’ र ‘कटुता’ को निन्दा गर्दै युरोपेली सङ्घ (इयु) लाई पर्खन आग्रह गरेका छन् । उनले तर्क सुनेपछि युरोपले ट्रम्पको ग्रिनल्यान्डको चिन्तालाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

बजारमा पनि प्रभाव देखिएको छ । एसएन्डपी५०० सूचकाङ्क २।१ प्रतिशतले घटेर छ हजार ७९६।८६ मा झरेको छ । यो अक्टोबर पछि सबैभन्दा ठूलो गिरावट हो । बेसेन्टले आफू चिन्तित नभएको बताएका छन्।

यसैबीच, सर्वोच्च अदालतले ट्रम्पको प्रयासबारे बहस गरिरहेको छ जसमा उनले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई ‘बन्धक धोखाधडी’ को आरोपमा पदबाट हटाउन खोज्दै छन् । इतिहासमा अहिलेसम्म कुनै अमेरिकी राष्ट्रपतिले फेड गभर्नरलाई बर्खास्त गरेका छैनन् ।

ट्रम्पको डाभोस आगमनमा एयर फोर्स वनमा विद्युत् समस्या र सुरक्षित उडानका कारण करिब तीन घन्टा ढिलाइ भएको थियो । राष्ट्रपतिले त्यसपछि एयर फोर्स सी–३२ विमानमार्फत यात्रा जारी राखेका थिए । रासस