काठमाडौं, ८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जेन–जी आन्दोलनबाट आफू र आफ्नो परिवार पीडित भएको कारण यसपटक चुनाव लड्न सक्ने अवस्था नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै उनले ७० वर्ष कटेका नेताहरुले अरु युवालाई अगाडि बढाउनका लागि स्थान दिनुपर्ने बताए । अब पनि नमरुन्जेलसम्म पनि मैले नै पद ओगट्नुपर्छ भन्नेखालको अवधारण गलत रहेको र त्यस्तो चिन्तनबाट सबै मुक्त हुनुपर्ने उनले बताए ।
‘मैले यसपटकको निर्वाचन लडिन् । त्यो निर्वाचन नलड्नुका पछाडि धेरै कारण छन् । समाजलाई परिवर्तन गर्ने सिलसिलामा युवाहरुलाई बढी प्राथमिकता दिनुपर्छ,’– पूर्व प्रधानमन्त्री खनालले भने ।
उनले अझै पनि समाजमा शान्ति सुरक्षाको समस्या रहेको, प्रहरीको मनोबल राम्रोसँगले नउठेको बताए । यसले निर्वाचनको क्रममा विभिन्नखालका अशान्तिको वातावरण बन्ने हो कि भन्ने चुनौतिको विषय रहेको उनले बताए । ‘निर्वाचन कसरी सम्पन्न हुन्छ भनेर मान्छेहरु बडो सशंकित भएर हेरिरहेको अवस्था छ,’– उनले भने ।
उनले नेपालमा नेतृत्व राम्रो ढंगले विकास हुन नसक्दा नेपाल देशी विदेशीहरुको क्रिडास्थल बन्न पुगेको दाबी गरेका छन् । पूर्व प्रधानमन्त्री खनालले भने, ‘हाम्रो देशमा नेतृत्व राम्रो ढंगले बन्न सकेन । त्यसले गर्दाखेरी नेपाल देशी विदेशीहरुको क्रिडास्थल बन्न पुगिरहेको छ । अब हाम्रो देशको राष्ट्रियतालाई सुदृढ गर्ने, सामाजिक, आर्थिक रुपान्तरण गर्ने, शिक्षा, स्वास्थ्यमा सुधार गर्ने प्रतिवद्धता भएका नेतृत्व आउन सकेको छैन ।’




प्रतिक्रिया