चितवन, ८ माघ । जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ ।
इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन् । उनले भने, “गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छौँ । खुसी छौँ ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिकलो १०० भन्दा बढीमा बिक्री हुँदै आएको उनले बताए ।
किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उनले बताए । उनले भने, “आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।” कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उनले बताए । माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उनले बताए ।
यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ् अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी छन् । उनीहरुले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरुले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । उनले भने “हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ । खुसी छौँ ।” अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उनले बताए । प्रतिकिलो १०० भन्दा बढीमा सुन्तला बिक्री भएको उनले बताए ।
सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उनको भनाइ छ । इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ्ग गरेर बिक्री गर्दै आएको बताउँछन् । उनका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उनले बताए ।
इच्छा कामना गाउँपालिकामा मात्रै यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । उनका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार दुई दशमलब आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उनले भने “गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।”
गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उनले जानकारी दिए । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०÷८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१÷८२ मा ११२० मेट्रिकटन र २०८२÷८३ मा १००२।८ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो छैन । उनले भने “यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।” इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उनले गाउँपालिका सुन्तलाखेती प्रवद्र्धनमा लागिरहेको बताए । उनले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउँछन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउँछन् । उनले भने, “कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पु¥याउन पालिकाले सहयोग गर्दै आएको छ ।”
कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउँछन् । १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उनले अहिले किसान सन्तुष्ट भएको बताए ।
अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । भरतपुर महानगरपालिका–२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ । रासस




प्रतिक्रिया