सभापति निर्वाचित भएपछि गगन थापा पहिलो पटक सानेपा जाँदै, त्यसपछिमात्रै सर्लाही झर्ने


काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोलि (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी केन्द्रीय कार्यालय जान लागेका हुन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदस्थापनापछि मात्रै उनी निर्वाचन क्षेत्रमा जाने छन् । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

‘भोलि पार्टीको निर्वाचन केन्द्रीत बैठकहरु छन् । सभापतिज्यू भोलि पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुन्छ । त्यसपछि मात्रै निर्वाचन क्षेत्रमा जाने कार्यक्रम तय हुन्छ,’– प्रवक्ता चालिसेले रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा भने ।