काठमाडौं, ८ माघ । राप्रपामा प्रवेश गरेर झापा-२ का उम्मेदवार बनेका स्वागत नेपाल केही उल्झनमा परेका छन् । उनलाई साईबर ब्यूरोले सोधपुछको लागि बोलाएको बुझिएको छ । हालै दिएको एक अभिव्यक्तिको विषयमा उनलाई साईबर ब्यूरोले सामान्य सोधपुछको लागि बोलाएको चर्चा छ । तर, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने सरकारी संयन्त्रले आफ्नो पार्टीका नेता तथा प्रतिनिधिसभाका उम्मेदवार नेपाललाई निरुत्साहित तुल्याउने प्रपञ्च गरेको दाबी गरेका छन् । उनले राप्रपाले देशैभरी उम्मेदवारी दिएर कुशासनयुक्त भ्रष्ट व्यवस्था रोज्ने कि देश बचाउने भन्ने प्रमुख दुई धार सिर्जना गर्दै मुख्य प्रतिस्पर्धामा देखिएपछि सरकारले देशैभरी राप्रपाका उम्मेदवारविरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमणमा उत्रिएको आरोप लगाएका छन् । झापा क्षेत्र नं २ का उम्मेदवार नेपाललाई साईबर ब्युरो भोटाहिटीको फोन नम्बर ९८५१२८६७७१ बाट फोन गरी हाजिर हुन भनिएको श्रेष्ठको भनाई छ ।
श्रेष्ठले स्वागत नेपाललाई साईबर ब्यूरो बोलाएकोबारे फेशबेकमा लेखेका छन्-
स्वागत नेपाल अब एक्लो छैनन् : राप्रपाका दिवंगत वरिष्ठ नेता दिपक बोहोराले अस्वस्थताका कारण एक शब्द नबोलेर पनि गत निर्वाचनमा बहालवाला गृहमन्त्रीलाई पराजित गरेको इतिहास राप्रपासंग छ। हाम्रो पार्टीका झापा-२ का उमेदवार प्रखर बक्ता, अधिवक्ता स्वागत नेपाललाई चुनाव प्रचारमा रहेको समयमा केही समयअघि बोलेकै आधारमा सरकारी संयन्त्रले निरुत्साहित तुल्याउने प्रपञ्च गर्दैछ जुन आपत्तिजनक छ। स्वागतजी नबोल्ने, बोल्न नसक्ने र कानुन नजान्ने मान्छे होइनन् भन्ने हेक्का रहोस्।
राप्रपाले देशैभरी उम्मेदवारी दिएर कुशासनयुक्त भ्रष्ट व्यवस्था रोज्ने कि देश बचाउने भन्ने प्रमुख दुई धार सिर्जना गर्दै मुख्य प्रतिस्पर्धामा देखिएपछि सरकारले देशैभरी राप्रपाका उम्मेदवार विरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमणमा उत्रिएको छ। यसै क्रममा झापा क्षेत्र नं २ का उम्मेदवार स्वागत नेपाललाई साईबर ब्युरो भोटाहिटीको फोन नम्बर ९८५१२८६७७१ बाट फोन गरी हाजिर हुन भनिएको छ। उहाँले राप्रपामा समाहित हुनुअघि नै ‘’यो सरकार दलको हो, नागरिक सरकार होइन भनेको र नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ’’ भनेको विषयमा बोलाएर म्याद थप नगरी सकिएको विषयमा फेरि बोलाएको भनिएको रहेछ, साथै राप्रपाले राष्ट्रिय एकता दिवसको दिन भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमा ‘’पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए अहिले पनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउनुपर्छ, म पृथ्वीनारायण शाहजस्तै आफ्नै परिवारको भएपनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउॅछु” भनेको विषयमा पक्राउ गर्न खोजिएको रहेछ। जतिबेला जुन अभिव्यक्ति दिनुभयो त्यतिबेलासम्म स्वागतजी राप्रपामा समाहित भइसक्नु भएको थिएन । उहाँको त्यतिबेलाको आधा भनाइ मात्र केही मिडियामा आएको र केहीमा पुरै भनाई आएको स्वागतजीको भनाइ छ। सिंहदबार जलाउँछु भन्नेहरुले जलाइसके तर स्वागत नेपाललाई बोलेकै आधारमा दु:ख दिने नियत अवाञ्छित छ।
दलको टिकट लिएर निर्वाचनमा होमिएको उमेदवार दलले निर्धारण गरेको तालिकामा हिड्नुपर्छ। स्वागतजी यतिबेला झापा-२ को निर्वाचनको प्रचारप्रसारमा हुनुहुन्छ र पूर्व निर्धारित तालिकामा हुनुहुन्छ। हाम्रो झापा-२ को उमेदवार स्वागतजीको प्रचार गरिदिने काममा सरकार लागेको हो भने स्वागत नै छ तर अनावश्यक दु:ख दिने, झण्झटमा पार्ने र चुनावी गति अवरुद्ध गर्ने नियोजित प्रयास हो भने सह्य हुने छैन- सरकारको गम्भीर ध्यानाकर्षण गराउॅदछौं ।




प्रतिक्रिया