गण्डकीमा महिलाको उम्मेदवारी कम


गण्डकी, ८ माघ । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीनवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा १७ जनाको उम्मेदवारी परेकामा एक जना मात्रै महिला उम्मेदवार छन् । क्षेत्र नं २ मा १७ जना उम्मेदवारमा एक जना महिला र क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।

दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङजा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । नवलपुर(बर्दाघाट सुस्ता पूर्व)को क्षेत्र नं १ र २ मा १८/१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ ।

गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः दुुई र एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः तीन र एक जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये एक/एक जना महिलाको उम्मेदवारी परेको छ । 

एक/एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सातजना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन । लमजुङमा १२ जनाको उम्मेदवारी परेमा एक जना महिला छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेमा एकजना महिलाको उम्मेदवारी छ । मुस्ताङमा आठ जनाको उम्मेदवारी परेकामा एक जना महिलाको उम्मेदवारी परेको छ । म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिला उम्मेदवार छैनन् ।   रासस