काठमाडौं , ८ माघ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको क्षेत्र नम्बर-४ मा चुनावी माहोल तात्दै जाँदा राजनीतिक प्रतिस्पर्धा विचार, नीति र कार्यक्रमभन्दा पनि व्यक्तिगत आरोप-प्रत्यारोपतर्फ मोडिन थालेकामा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको पूर्व सचेतक निर्मला क्षेत्रीले चिन्ता व्यक्त गरेकी छिन् । यही सन्दर्भमा नेतृ निर्मला क्षेत्रीले लोकतान्त्रिक मर्यादा र राजनीतिक संस्कारको रक्षा गर्दै स्तरहीन भाषाको कडा विरोध र कांग्रेस सभापति गगन थापाको स्पष्ट समर्थन जनाएकी हुन्
नेतृ क्षेत्रीका अनुसार नेपाली राजनीतिमा असहमति, आलोचना र व्यंग्य स्वाभाविक र आवश्यक भए पनि त्यसको नाममा व्यक्तिको चरित्र हत्या गर्ने, मर्यादाहीन र अपमानजनक भाषा प्रयोग गर्नु लोकतन्त्रको आत्मामाथि प्रहार हो । कांग्रेस पृष्ठभूमिका डा. अमरेश सिंहले कांग्रेस सभापति गगन थापामाथि प्रयोग गरेका शब्द र अभिव्यक्तिले राजनीतिक प्रतिस्पर्धा कति तल्लो तहमा झर्न सक्छ भन्ने गम्भीर प्रश्न उठाएको उनी बताउँछिन् ।
“बीपी कोइरालाको विचार र लिगेसीको दाबी गर्ने नेताबाटै यस्तो असहिष्णु र स्तरहीन भाषा आउनु दुःखद मात्र होइन, चिन्ताजनक पनि हो,” क्षेत्रीले भनिन्, “सामाजिक सञ्जालका फेक आइडीहरूले समेत प्रयोग नगर्ने शब्द सार्वजनिक रूपमा प्रयोग हुनु कांग्रेसको राजनीतिक संस्कार र समग्र लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन ।” उनका अनुसार चुनाव लड्नु, प्रतिस्पर्धा गर्नु तथा हार-जित स्वाभाविक प्रक्रिया हो ।
सर्लाही-४ मा सभापति थापासँग स्वस्थ राजनीतिक प्रतिस्पर्धाको प्रयास गर्नु डा. अमरेश सिंहको राजनीतिक अहोभाग्य हो । त्यसका लागि नीति, विचार, कार्यक्रम र जनतासँगको सम्बन्ध नै आधार बन्नुपर्छ । “व्यक्तिगत आक्षेप, अपमान र चरित्र हत्याबाट राजनीति जितिँदैन,” क्षेत्रीको भनाइ छ ।
नेतृ क्षेत्रीले चेतावनी दिँदै भनिन् “यस्ता स्तरहीन अभिव्यक्तिले क्षणिक चर्चा त दिलाउन सक्छ, तर दीर्घकालमा त्यसको मूल्य स्वयं अभिव्यक्ति दिने व्यक्तिले नै चुकाउनुपर्ने हुन्छ ।” आजका मतदाता गाली होइन, समाधान खोजिरहेको र आरोप होइन, स्पष्ट विकल्प चाहिरहेको उनको धारणा छ ।
सुधारवादी राजनीति, युवामैत्री सोच, स्पष्ट दृष्टिकोण र जवाफदेहितामा आधारित कार्यशैलीका कारण कांग्रेस सभापति गगन थापाप्रति सर्लाही-४ का मतदाताहरुको आकर्षण बढ्दोछ । सभापति जनप्रतिनिधिको रुपमा निर्वाचित गर्न मतदाता आतुर छन् ।
पछिल्लो समय देशभर नेपाली कांग्रेसप्रति जनसमर्थन थप सुदृढ बन्दै गएको देखिन्छ । पुरानो राजनीतिक शैली तोड्दै मुद्दा, सुशासन र उत्तरदायित्वको राजनीतिलाई अघि बढाउन खोज्ने नेतृत्वका रूपमा गगन थापा धेरैका लागि आशाको प्रतीक बनेका छन् ।
नेतृ क्षेत्रीले भनिन्, “राजनीति स्तर घटाउने माध्यम बन्ने कि समाज सुधार्ने औजार?” उनको स्पष्ट अपिल छ, “स्तरहीनता होइन, मुद्दामा प्रतिस्पर्धा गरौँ । व्यक्तिगत आक्रमण होइन, विचारको बहस गरौँ । यही नै लोकतन्त्रको मार्ग हो र यही नै नेपाली राजनीतिले रोज्नुपर्ने सही दिशा हो ।”




प्रतिक्रिया