काठमाडौं, माघ ९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट उम्मेदवार बनेसँगै नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ । आफूले लगातार तीनपटक जितेको काठमाडौं ४ छाडेर गगन मधेश पुगेका छन् । नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई मात्रै होइन, अन्य दल र समर्थक पनि अहिले गगन सर्लाही ४ बाट कसरी विजयी भएर संसद् फर्केलान् भन्ने चासो जनाइरहेका छन् ।
यतिबेला सामाजिक सञ्जाल र मिडिया झापा ५ पछि सर्लाही ४ केन्द्रित भएका छन् । त्यहाँका ग्राउन्ड रिपोर्ट आउन थालेका छन् । उम्मेदवारहरूको केस स्टडी सुरु भएको छ । नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि उनी सर्लाही जाने कार्यक्रम रहेको छ । आज पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि उनी चुनावी मैदानमा उत्रने भएका छन ।
यसअघि नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी अभियानमा लागेका छन् । थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा चुनावी प्रचार अभियान सुरु भइसकेको छ । वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा आज केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँने तयारीमा छन् ।
सधैं कांग्रेसको आधार किल्ला रहँदै आएको तराई मधेशमा विगतमा पनि ठूल्ठूला कांग्रेस नेता चुनाव उठेर जित्दै आएका छन् । तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौंले हराउँदा २०५६ सालमा पर्साबाट विजयी भएर आएर फेरि प्रधानमन्त्री बनेका थिए । त्यस्तै, २०१५ सालको निर्वाचनमा बीपी कोइराला पनि तराई मधेशबाटै चुनाव जितेर प्रधानमन्त्री बनेका हुन् ।
त्यसैले तराई मधेसले जहिल्यै पनि कांग्रेसलाई गुण लगाएकाले गगन थापा जोखिम मोलेर मधेस झरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । गगनको उपस्थितिले सर्लाही ४ मात्र होइन, सप्तरी, सिराहा, धनुषादेखि पर्सासम्मको माहोल फेरिने आकलन गर्न थालिएको छ । तराईमा यातायातका साधन सुगम भएकाले एकैदिन गगनले धेरै निर्वाचन क्षेत्रमा सम्बोधन गर्नसक्ने देखिएको छ । गगनले आजभोलिदेखि नै निर्वाचन क्षेत्र पुगेर मतदातासँग भेटघाट गर्ने भएका छन् ।




प्रतिक्रिया