रेशम चौधरीलाई चुनाव लड्न नदिनु ‘असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कत’


काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीको भर्त्सना गरेको छ । निर्वाचन आयोगले हिजो (बिहीबार) नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएकाले चौधरी निर्वाचन लड्न योग्य नरहेको भनी उजुरी परेको थियो ।

जसपाले आयोगको उक्त निर्णयलाई ‘असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कत’ भनेको छ । जसपाका अध्यक्ष अशोक कुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचान प्राप्तिको संघर्षका एक सशक्त महारथी नागरिक उन्मुक्ति पार्टीका संस्थापक, अहिले संरक्षक पूर्व सांसद रेशमलाल चौधरी थारुको उम्मेदवारी अस्वीकार गरिएको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । यो विलकूलै असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कत हो । हामी यसको विरोध एवं भर्त्सना गर्दछौं ।’

चौधरीको उम्मेदवारी खारेजीमा पहिचानका लागि लडिरहेका जनता समाजवादी पार्टी, नागरिक उन्कमुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालको एकल चुनाव चिह्न जाँतोमा चुनाव लड्ने निर्णयबाट ईष्यालु बनेका कुतत्त्वहरुको षड्यन्त्रको दुर्गन्ध पनि रहेको जसपाको निष्कर्ष छ । निष्पक्ष निर्वाचन सम्पन्न गर्न यसप्रकारका गतिविधिलाई निर्वाचन आयोगले सच्याउने विश्वास जसपाले लिएको छ । अन्यथा यसबाट उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जसपाको चेतावनी रहेको छ ।