मनाङमा चुनावी प्रतिस्पर्धाबाट ब्याक भए एमाले र राप्रपाः कांग्रेसका गुरुङलाई समर्थन


काठमाडौं, ९ माघ । मनाङमा नेकपा (एमाले) का उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गरेका छन् ।

एमाले र राप्रपाका उम्मेदवारले मनोनयत फिर्ताको लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताए ।

राप्रपा र एमालेले उम्मेदवारी फिर्ता लिएसँगै अब मनाङमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ । देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मनाङमा भने उम्मेदवार उठाएको छैन ।