काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जनतामा रहेको सुशासनको भोकलाई तृप्त गराउने गरी पार्टी अगाडि बढ्ने बताएका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नयाँ युगले खोजेको कुरा सुशासन रहेको बताएका हुन् ।
उनले हालको कांग्रेस हिजोको भन्दा फरक रहेको बताए । बदलिएर आएको कांग्रेसको तमाम विचारलाई सुनेर मतदाताको बीचमा पुर्याइदिन पनि उनले पार्टीका समर्थक र कार्यकर्ताहरुलाई आग्रह गरे । ‘यो बेलामा बदलिएर आएको तमाम विचारलाई सुनेर तमाम मतदाताको बीचमा पनि लगिदिनुपर्छ हाम्रो सन्देश– यो हिजोको कांग्रेसभन्दा फरक हो,’– सभापति थापाले भने ।
गत २०७९ को आम निर्वाचनमा गठबन्धन हुँदा पार्टीका कार्यकर्ता र समर्थकहरुले रुखमा भोट हाल्न नपाएको गुनासो गरेको पनि सभापति थापाले बताए । तिनै मतदाताको गुनासो सम्बोधन हुनेगरी यसपटक सबै निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको र अब कांग्रेसीहरुले रुखभन्दा बाहेक अर्को चिह्नमा मतदान गर्नु नपर्ने बताए ।
२०७९ को आम निर्वाचनको सन्दर्भ जोड्दै सभापति थापाले भने, ‘त्यो बेलामा म पनि उम्मेदवार थिएँ । म थुप्रै ठाउँमा मत माग्न गएको थिएँ । त्यो बेलामा सबैभन्दा मुख्य कुरा के थियो भने– कांग्रेस भएर रुखमा मात्रै मत माग्न आउनुस् भन्नुभएको थियो । त्यो कुरा सुधार गरेरमात्रै हाम्रो चुनावको यात्रा सुरु गरेका छौं । १६५ क्षेत्रमा सबै नेपाली कांग्रेसका मतदाताले यो पटक रुख चिह्नमा मात्रै मतदान गर्नुहुन्छ ।’




प्रतिक्रिया