पूर्वी नेपालमा दैवी शक्तिको आशीर्वाद थाप्दै बालेन


काठमाडौं, माघ १० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पूर्वी नेपालमा चुनावी अभियानमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज तेह्रथुम पुगेका छन् ।

झापा–५ बाट चुनाव लड्न लागेका उनी त्यस आसपासका जिल्लामा चुनावी अभियानसँगै शक्तिपीठहरुमा धाउन सुरु गरेका छन् । उनले आज बिहान तेह्रथुमको म्याङ्लुङ देवीथानको दर्शन गरेका छन् । यसअघि उनले इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रमा पुगेका थिए ।

हाइप्रोफाइल भिडन्त हुने भएपछि शाह यतिबेला पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा पुगेर जनमत आफ्नो पक्षमा पार्ने कसरतमा छन् । पाथीभराको दर्शनसँगै आफ्नो चुनावी अभियान थप ऊर्जाका साथ अगाडि बढाउने संकेत दिएका छन् । झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र शाहबीचको यो प्रतिस्पर्धालाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ ।