काठमाडौं, १० माघ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका नेताहरुलाई एउटै मञ्चमा राखेर आगामी योजनाबारे बहस गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बहसले लोकतन्त्रलाई बलियो बनाउने भन्दै सहमहामन्त्री राणाले कांग्रेस त्यसको लागि तयार रहेको बताएका छन् । उनले प्रश्नबाट कोही भाग्न नहुने पनि बताएका छन् ।
‘सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन् । यतिबेला हरेक नागरिकको स्वभाविक जिज्ञासा छ–यी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस किन नगर्ने ?’ प्रश्न गर्दै उनले भनेका छन् ।
नेता राणाले बहसबाट प्रधानमन्त्रीका उम्मेदवारको देश निर्माणबारेको ठोस नीति, योजना र कार्यक्रम, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा दृष्टिकोण थाहा हुने बताएका छन् ।
यसपटक नेकपा (एमाले) ले केपी शर्मा ओली, नेपाली कांग्रेसले सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा नभए पनि त्यस्तो अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अगाडि सारिने निश्चित छ ।




प्रतिक्रिया