काठमाडौं, १० माघ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजको दिनमा नेपाली कांग्रेस एकढिक्का रहेको बताएका छन् । कांग्रेस बागमती प्रदेशको सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँले पार्टीभित्र कुनै पनि प्रकारको विवाद नरहेको बताएका हुन् । पूर्व पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नका लागि टिकट नपाएको भन्दा पनि नलिएको उनले बताए । ‘कांग्रेस एकढिक्का भएर चुनाव लड्छ । कांग्रेस देशमै एक नम्बरको पार्टी बन्छ । पपुलर मत पनि कांग्रेसले ल्याउँछ,’– उनले भने ।
साथै, गत २०७९ को निर्वाचनमा माओवादीसँगको गठबन्धन कांग्रेसलाई कुनै पनि फाइदा नभएको उनले बताए । यसपटक भने पार्टी सभापति गगन कुमार थापाले देशको १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर पार्टीलाई न्याय गरेको उनले बताए । यसपटकको निर्वाचनमा कांग्रेसले पार्टीका उम्मेदवारमाथि अन्तरघात नगर्ने उनले बताए । देश, पार्टी, राष्ट्रिता र स्वाधीनताको लागि कांग्रेसले कुनै पनि प्रकारको कम्परमाइज नगर्ने उनले बताए ।
उनले पार्टी सभापति देउवालाई धैर्य, निडर, समस्या झेल्न सक्ने र आलोचना सुन्न सक्ने नेताको रुपमा चित्रण गरे । उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टी सभापति गगन कुमार थापा प्रधानमन्त्री बन्नेमा दुईमत नरहेको बताए । गगनलाई कांग्रेस र नेपाली जनताले पत्याउने उनको दाबी छ । ‘कांग्रेसभित्र नयाँ उर्जा र एकताको सन्देश गएको छ । जनताले र कांग्रेसले गगन थापालाई पत्याउँछन्,’– उनले भने ।




प्रतिक्रिया