काठमाडौं, १० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् ।
‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा । नेत्र जलिसकेछ, हिजो फर्केर आउँदा के–के न म सुन तस्कर हुँ किजस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ, हैरान पारेको छ । अचम्मै । विदेश जाँदा पनि चिनेको ठाउँमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा पर्यो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो,’– ओलीले भने ।
‘किन यस्तो गरेको’ भनेर सोध्दाखेरी उनीहरुले ‘माथिबाट आदेश आएको छ’ भनी जानकारी गराएको अध्यक्ष ओलीले सुनाए । ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आफूहरुलाई दुःख दिने र अपमान गर्नेतर्फ लागेको बताए । ‘सरकार हामीलाई दुःख दिने, अपमान गर्ने कामतिर लागेको छ । सरकारको मति नेताहरुको अपमान गर्ने छ,’– उनले भने ।




प्रतिक्रिया