दमौली (तनहुँ), ११ माघ । यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।
नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिए । हाल कभर्डहलमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । व्यास नगर व्याडमिन्टन क्लबले रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण गरेको हो ।
पछिल्लो समय व्याडमिन्टनतर्फ खेलाडीको आकर्षण बढ्दै गएकाले कभर्डहल निर्माण गरी यहाँ व्याडमिन्टनका खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए । उनका अनुसार कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार २३४ सहयोग गरेको छभने लागत नगद सहभागिता रु सात लाख रहेको छ । त्यस्तै एक लाख ७८ हजार ५२२ श्रमदान गरी कुल ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण भएको हो ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले ३२ लाख ८४ हजार २९३, आव २०७८/७९ मा ३१ लाख २५ हजार ९३१, आव २०८०/८१ मा १४ लाख २५ हजार र चालु आवमा नौ लाख ५० हजार सहयोग गरेको थियो ।
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग
जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि जनशक्ति अभाव भएको जनाउँदै पुनः दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको निवेदन माग गरिएकामा तनहुँमा एक हजार ४३३ जनाको निवेदन परेको थियो ।
कार्यालयले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँचपश्चात् एक हजार २३६ जना उत्तीर्ण गरी लिखित परीक्षा सञ्चालन गरेकामा एक हजार २१६ जना उत्तीर्ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
कार्यालयले सूचना जारी गरी निर्वाचन प्रहरीको थप दरखास्त माग गरेको छ । कार्यालयले यसअघि पुस २५ गतेदेखि माघ ३ गतेसम्म दरखास्त लिएकामा पुनः माघ १० र ११ गते दुई दिन निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
प्रनाउ विकका अनुसार जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बेलचौतारा, इलाका प्रहरी कार्यालय भानु र इलाका प्रहरी कार्यालय बन्दीपुरमा निवेदन दिन सकिनेछ । पुनः आवेदन माग गरिएकामा शनिबार एक सय ९२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ६७ जना महिला र एक सय २५ जना पुरुष छन् । रासस




प्रतिक्रिया