ओखलढुङ्गा, ११ माघ । नेकपा (एमाले) ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवाल पुनः पार्टी काममा सक्रिय भएका छन्। प्रतिनिधिसभा निर्वाचनको संघारमा पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा जिम्मेवार कार्यकर्ताको हैसियतले चुप लागेर बस्न नसक्ने भन्दै उनी एमाले अभियानमा फर्किएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कटवालले आफू २०४३ सालदेखि तत्कालीन नेकपा (माले) निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट संगठित हुँदै पार्टीका विभिन्न मोर्चामा काम गरेको र ओखलढुङ्गा जिल्ला अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेको उल्लेख गरेका छन्।
पार्टीभित्र देखिएका विकृति–विसंगति, अवसरवादी तथा हैकमवादी प्रवृत्तिका कारण कठिन अवस्थामा जिल्ला कमिटीको जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै उनले १०औँ जिल्ला अधिवेशनपछि अधिकार कुण्ठित गर्ने, दबाब र आरोप–प्रत्यारोप बढेपछि जिल्ला कमिटीबाट राजीनामा दिएर केही समय निष्क्रिय बसेको बताएका छन्।
तर देश निर्वाचनमा होमिएको र पार्टीमाथि आक्रमण भइरहेको वर्तमान अवस्थामा जिम्मेवार सदस्यको नाताले पार्टी काममा फर्किएको कटवालको भनाइ छ। उनले नेकपा (एमाले)का नेता–कार्यकर्ता तथा मतदातालाई एकताबद्ध हुन आह्वान गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
हाल बुवाको उपचारका सिलसिलामा काठमाडौंमा रहेका कटवाल जिल्ला फर्किएपछि निर्वाचन परिचालनमा सक्रिय रूपमा लाग्ने बताएका छन्।




प्रतिक्रिया