प्रचण्डलाई घनश्यामको सुझावः हरिबोल, महेश्वरलगायतलाई कारबाही गरेर अगाडि जाने बाटो छैन, पछि हट्नुस्


काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाह अध्यक्ष घनश्याम भुसालले हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेतालाई कारबाही गर्ने निर्णयबाट पछाडि हट्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् । नेता भुसालले हरिबोल, महेश्वरलगायतका नेतालाई कारबाही गरेर प्रचण्डको अगाडि जाने बाटो नरहेको पनि दाबी गरेका छन् ।

‘तपाईँमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन,’– उनले भनेका छन् ।

उनले हरिबोल र महेश्वरजस्ता अप्ठ्यारा नेताहरुले नै प्रचण्डको जीवनलाई गौरव गर्न लायक बनाएको बताएका छन् । ‘हरिबोल गजुरेल र महेश्वर दाहालहरुले तपाईँको अनुशासन उल्लङ्घन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरु भर्ति भैरहेका होलान् । तर नबिर्सिनुस्, तपाईँले आफ्नै जिन्दगीमा गौरव गर्ने केही चिज छ भने त्यो हरिबोल वा महेश्वरहरुजस्ता अप्ठेराहरुले बनाइदिएका हुन्,’– उनले भने ।

पार्टीको निर्णयविपरीत गतिविधि र काम गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले हरिबोललगात ७ जना नेतालाई निष्कासन गरेको थियो ।