मलाई देउवाको साथ छ, चुनाव जित्छुः नैनसिंह महर (भिडिओसहित)


काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला आयोजना गर्न लागेको कुरा आफूलाई जानकारीमा नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम वमसँग संवाद गर्दै उनले कांग्रेस यतिबेला एकताको साथ चुनावमा होमिनुपर्ने अवस्था रहेको बताए ।

उनले आफू जनताको सेवकको रुपमा र नेताहरुको उत्तराधिकारीको रुपमा सफलतापूर्वक काम गर्ने अठोटका साथ निर्वाचनमा होमिएको बताए । आफूलाई पूर्व पार्टी सभापति शेरबहादुर देउवादेखि सुदूरपश्चिमका समग्र नेताहरु र जनताको साथ रहेको उनले बताए ।

कांग्रेसको नेतृत्वमा डडेलधु्रामा सुरु भएका केही अधुरा कामहरुर सम्पन्न गर्ने आफ्नो अभिभारा रहेको पनि उनले बताए । डडेलधुरा मेडिकल कलेजलाई सम्पन्न गर्नुपर्ने, गाउँगाउँमा पुर्याइको रोडलाई कालोपत्रे गर्नुपर्ने, विद्युत, टेलिफोन, खानेपानी, शिक्षालगायतका अधुरा काम गर्नका लागि पनि आफू उम्मेदवार भएको उनले बताए । धेरै विकासका पूर्वधारहरु देउवाको कार्यकालमा स्थापित भएको र अब त्यसलाई राम्रो र भरोसायोग्य बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।