काठमाडौं, १२ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता रञ्जित तामाङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा ५ का मतदाताले भत्ता खाने उमेरमा सत्ताको रहर नगर्न भनिराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम वमसँग संवाद गर्दै उनले बालेन शाह त्यहाँका जन्ती मलामी केही पनि नरहेको र ओलीलाई जनताले नै सत्ताको रहर नगर्न भनिराखेको अवस्थामा आफूले चुनाव जित्ने बताएका हुन् । उनले वामपन्थीहरुको ठूलो टिमले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘अब यहाँबाट बालाई हामी अपमानित ढंगले पनि होइन, उमेरको हिसाबले पनि भत्ता खाने उमेर पुगिसकेको हुनाले अब सत्तातिर रहर नगर्न बालाई ससम्मान विदाइ दिएर निर्वाचनमा मतदताताले बाध्य बनाउँछन् । ठूलो वामपन्थीहरुको टिमले मलाई नै सहयोग गर्नुहुनेछ,’– उनले भने ।
झापा क्षेत्र नम्बर ५ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार रहेका नेता तामाङले आफू. निरन्तर रुपमा राजनीतिक अग्रगमन र परिवर्तनको निम्ति लडिराखेको बताए । उनले अहिलेको अस्थिर राजनीतिको निकास भनेको शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार गर्नु नै रहेको बताए । आफ्नो उम्मेदवारी प्रत्यक्ष निर्वाचितको एजेण्डा बनाउन, झापा ५को स्थानीय मुद्दाहरु, सुकुम्बासी, मजदुर, युवाका कुराहरु संसद्मा निरन्तर उठाउन र कानुन बनाउनका लागि रहेको पनि उनले बताए । यी एजेण्डाहरु पूर्व प्रधानमन्त्री ओली र अर्का उम्मेदवार बालेन्द्र शाहबाट पूरा गर्न सम्भव नरहेको उनले बताए । उनले आफू स्थानीय जनताको सुख दुःखको साथी रहेकाले पनि यो चुनाव जित्नुपर्ने बताए ।
झापा ५ का जनता पूर्व प्रधानमन्त्री ओलीको बोली, व्यवहार, शैलीलगायतका कुराले अब उहाँ चाहिँ हुँदैन भन्ने पक्षमा पुगिसकेको उनले बताए । एमालेको एउटा ठूलो टिम नै अब ओलीलाई चुनावमार्फत विदाइ गर्नुपर्छ भन्ने पक्षमा उभिएको उनले बताए । आम मतदाताको चाहना, नयाँ, युवा र स्थानीयले अबको नेतृत्व सम्हाल्नुपर्छ भन्ने रहेको उनले सुनाए ।




प्रतिक्रिया