काठमाडौं, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पाथिभरा जाने क्रममा चढेको गाडीलाई लिएर विवादमा तानिएका छन् । बालेनले चढेको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी विवादित व्यापारी कमलकिशोर मालपानीको रहेको थियो ।
पूर्वी नेपालका जिल्लाहरुमा चुनाव प्रचारप्रसारपछि उनी अहिले काठमाडौं फर्किसकेका छन् । अहिले काठमाडौंमा उनले चढिरहेको गाडी पनि आफ्नो नभएर ठेकेदारको भएको खुलेको छ । अहिले उनले चढ्ने गरेको टेस्ला गाडी पशुपति शिवाजी कन्स्ट्रक्सनका मालिक सुशील कडरियाको रहेको बुझिएको छ । बालेन काठमाडौं महानगरको मेयर रहेको बेलाका पशुपति शिवाजीले निकै ठेक्का हड्पिएको पनि चर्चा हुन थालेको छ ।
रास्वपाका नेता एवं पूर्व सांसद गणेश पराजुली बालेनले पाथिभरा जाने क्रममा चढेको गाडी उतै फिर्ता गरेको र अहिले पनि आफ्नो सवारी साधन नभएको कारण साथीभाइले नै उपलब्ध गराउँदै आएको गाडी चढ्ने गरेको बताउँछन् ।
‘कसैले उपलब्ध गराएको गाडी चढ्नु, पाथीभरासम्म गएर दर्शन गरेर त्यहाँका जनता भेटेर जसको गाडी हो, उसलाई फिर्ता गरेर काठमाडौं फर्किसक्नुभएको छ । यो विषयमा मैले धेरै स्पष्टीकरण दिइराख्नु आवश्यक छैन । उहाँले काठमाडौ आइसकेपछि अर्को कुनै साथीले उपलब्ध गराएको एउटा गाडी चढ्नुभएको छ,’– नेता पराजुलीले भने ।
बालेनसँग आफूले सवारी साधन नभएकै कारण र देशका विभिन्न ठाउँमा पुग्दाखेरी उपलब्ध भएका सवारी साधन प्रयोग गर्नुपरेको नेता पराजुलीले बताए ।




प्रतिक्रिया