काठमाडौं, १२ माघ । आसन्न फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर निर्वाचन हुँदैछ । देशभर हुने निर्वाचनमा पनि यतिबेला सबैको नजर झापा क्षेत्र नम्बर ५ मा रहेको छ । झापा ५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्व मयेर बालेन्द्र शाहबीच हुने चुनावी प्रतिस्पर्धालाई सबैले रोचकताका साथ हेरिरहेका छन् ।
संयोग चाहिँ के छ भने– ओली र शाह दुवैलाई पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेको छ । झापा ५ लाई एमालेको गढ मानिन्छ । गत २०७९ को आम निर्वाचनमा झापा ५ बाट ओलीले ५२ हजार ३ सय १९ मत पाएर निर्वाचित भएका थिए । ओलीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । झापा ५ मा ओली कांग्रेसका उम्मेदवार अधिकारीभन्दा झण्डै साढे २८ हजार बढी मत पाएर निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुरेस कुमार पोखरेलले भने ११ हजार ७ सय ५९ मत पाएर तेस्रो बनेका थिए ।
यता समानुपातिक मततर्फ झापा ५ मा गत ७९ को निर्वाचनमा एमालेले ३५ हजार ८ सय ७२, कांग्रेसले, रास्वपाले १८ हजार२ सय ५, कांग्रेस १६ हजार ८ सय ५९ र माओवादी केन्द्रले ८ हजार ६ सय ८० मत पाएको थियो । समानुपातिक मतको आधारमा यसपालीको निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुने निश्चित छ ।
एमाले अध्यक्ष अोली देशको पूर्व प्रधानमन्त्री भइसकेको र झापा ५ बाट पटक–पटक चुनाव जित्दै आएका व्यक्ति भएको कारण पनि उनलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । गत ०७९ को आम निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीभन्दा २८ हजार बढी मतले चुनाव जित्नुलाई पनि उनको उम्मेदवारीलाई कम आँक्न सकिँदैन ।
त्यस्तै, अर्का उम्मेदवार बालेन गत २०७९ वैशाखमा भएको स्थानीय तहको आम निर्वाचनमा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । उनले ६१ हजार ७ सय ६७ मत पाएका थिए । तत्कालीन समयमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंमा ६१ हजार बढी मत पाएका बालेन अहिले उदयीमान राजनीतिक दल रास्वापामा आवद्ध छन् । गत २०७९ को आम निर्वाचनमा युवामा रहेको निराशा र आक्रोशलाई क्यास गर्न सफल रास्वपाको क्रेज अहिले पनि उत्तिकै छ । यता युवाहरुमा रहेको निराशाको लेवल पनि घटेको छैन । यसआधारमा बालेनलाई पनि कमजोर उम्मेदवार आँक्न सकिँदैन ।




प्रतिक्रिया