काठमाडौं, १२ माघ । बेग्लाबेग्लै पार्टीबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा र बालेन शाहको चुनावी क्रेज लोभलाग्दो छ । कांग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन् । पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ ।
उता, काठमाडौं महानगरको नेतृत्वबाट राजीनामा दिएर संसदीय राजनीतिमा हाम फालेका छन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा वरिष्ठ नेता बनेका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको छ । उता, एमालेले पनि अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेको छ। रोचक त के छ भने काठमाडौंमा लोकप्रिय बनेका युवा नेता गगन यसपटक संसदीय चुनावको लागि मधेश झरेका छन् ।
उनी पहिलोपटक मधेश झरेर पार्टीको जित फराकिलो बनाउन चाहन्छन् । उनले सर्लाही–४ बाट मनोनयन दर्ता गराएका छन् । तर, उनी मनोनयन दर्ताको लागि गएनन् । वारेसमार्फत नै आफ्नो उम्मेदवारी दर्ता गराएका थापा आज पहिलोपटक सर्लाही पुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका हुन् ।
सिमरामा उनको स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । उता, झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन शाह भने आफ्नो मनोनयन दर्ताको लागि आँफै उपस्थित् थिए । उनी मनोनयन दर्तापछि झापामा केही दिन बसेर पूर्वी जिल्लाहरुको भ्रमण सकाएर काठमाडौं फर्किएका थिए । काठमाडौंमा उनी पार्टी कार्यालयमा नगई आफ्नो साथी कुमार बेनको घरलाई चुनावी मुकाम बनाएका छन् ।
आज उनी सुदूरपश्चिम यात्रामा निस्किएका छन् । त्यसको लागि उनी नेपालगञ्ज जहाजमा गएका छन् । विमानस्थलमा उनको स्वागतमा थामिनसक्नु भीड लागेको छ । अहिले गगन थापा र बालेन शाह दुवैका समर्थकहरु आफ्नो नेताको स्वागत तथा सम्मानको लागि कस्सिएका छन् । दुवैतर्फ भीड उत्तिकै लागेको छ । सामाजिक सञ्जालमा दुवै नेताको लोकप्रियताको चर्चा चुलिएको छ ।




प्रतिक्रिया