काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफूले विगतमा गरेको नकारात्मक टिप्पणी गलत थियो भन्ने अनुभूति भइरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै नेता थापाले राजसंस्थाप्रतिको आफ्नो आस्था र विश्वास सधैंै अटल र अविचलित रहेको बताएका हुन् ।
‘करिब ३/४ वर्ष अगाडि विभिन्न कारणले गर्दाखेरी राजाप्रति मैले नकरात्मक टिप्पणीहरु गरेँ । त्यो आफैंमा ठीक थिएन भन्ने मलाई लागिसकेको छ । राजसंस्थाप्रतिको मेरो आस्था र विश्वास सधैं अटल र अविचलित रहेको छ,’– नेता थापाले भने ।
आफूहरुबीचमा केही भ्रमहरु भए पनि ज्ञानेन्द्रसँगको भेटपछि अहिले भ्रमहरु सबै सकिएको उनले बताए । साथै, ‘अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ’ भनेर पूर्व राजा ज्ञानेन्द्रलाई भनेको पनि उनले बताए । पूर्व राजाबाट पनि त्यहीअनु्सारको विश्वास र भरोसा आफूले पाएको उनले सुनाए । पूर्व राजा ज्ञानेन्द्र र आफ्नोबीचमा अहिले कुनै पनि भ्रम, तिक्तता र अविश्वास नरहेको उनले बताए ।




प्रतिक्रिया