विराटनगर, १२ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दुईदिने अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन यही माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिकालगायत १२ देशका प्राज्ञ, नीतिनिर्माता, अनुसन्धनकर्ता तथा विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।
सम्मेलनका संयोजक एवं विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डिन प्राडा भोलानाथ शर्मा घिमिरेका अनुसार १५० सहभागीले आफ्नो अध्ययन–अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत गरिएका विषयमा छलफल हुने उनले बताए । रासस




प्रतिक्रिया