काठमाडौं, १२ माघ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट उम्मेदवारी दिएका श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले आफूले चुनाव जित्ने निश्चित रहेको बताएका छन् । आज (सोमबार) रामेछापको मन्थलीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु ठूल्ठूला वर्ग संघर्ष, राजनीतिक संघर्षबाट उदायकाले यहाँका जनताले विश्वास र भरोसा गरेर जिताउने बताए ।
‘रामेछापमा त हामी चुनाव जित्छौं नै । यसमा कुनै शंका नै छैन । किनभने हामी ठूल्ठूला वर्ग संघर्ष, राजनीतिक संघर्षबाट उदाएका हौं । यहाँ कसैले दया माया गरेर बनाइदिएका नेता होइनौं हामी,’– उनले भने ।
साथै, उनले आफूहरु जनताले निर्माण गरेको नेतृत्व र नेताको रुपमा अगाडि बढेको पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीले बहुमत नपाएको खण्डमा देश दुर्घटनामा जान सक्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो पार्टीको बहुमत भएन भने देश दुर्घटनामा जान सक्ने खतरामा छ ।’
साथै, उनले आसन्न फागुन २१ गतेको चुनावले धेरै सम्भावना बोकेर आएको बताए । फागुन २१ गतेको चुनावलाई ‘जाने, भोट हाल्ने’ दिनको रुपमा मात्रै नसोच्न समेत उनले मतदातालाई आग्रह गरे । File Photo/RN




प्रतिक्रिया