प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौं-तराई द्रुतमार्ग आयोजनाको निरीक्षण


काठमाडौं, माघ १३ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईँ द्रुतमार्गको निरीक्षण गरेकी छन् । आज बिहान ललितपुरको खोकना पुगेर प्रधानमन्त्री कार्कीसहितको टोलीले निर्माणाधिन द्रुतमार्गको निरीक्षण गरेको हो ।

प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षणमा पुगेका छन् । निरिक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्माणाधीन सुरुङ, पुल र सडक निर्माणमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएकी छन् ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दुरी ७०.९७ किलोमिटर छ। यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन्। आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ। राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ।

सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर छ। राजमार्गको कतिपय ठाउँमा सडक कालोपत्र गर्ने काम सुरु भइसकेपनि
काठमाडौंतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन। त्यस क्षेत्रमा निर्माण हुने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रियासमेत अगाडि बढेको छैन।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ। मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।