म्याग्दी, १४ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ ।
हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए ।
समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् ।
पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुनले हिमपात सुरुभएपछि चहलपहल घटेको बताए । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।
यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए ।
सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए । गहुँ जौ, केराउ, सन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ । रासस




प्रतिक्रिया