गरिव, विपन्न र भूमिहीन नागरिकहरुको लागि केन्द्रीयस्तरीय बस्ती व्यवस्थापन समन्यव समिति गठन, अध्यक्षमा अजय बैगार


काठमाडौं, १४ माघ । देशैभरिका सुकुम्वासी, हलिया, मोही, गोठीलागयत सबै नेपालका गरिव र विपन्न नागरिकहरुको हकहित स्थापना गर्नको लागि केन्द्रीयस्तरीय बस्ती व्यवस्थापन समन्वय समिति गठन भएको छ । समितिको अध्यक्षमा अजय बैगार चयन भएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यो समितिको घोषणा गरिएको छ । कार्यक्रममा अध्यक्ष बैगारले राजामहाराजादेखि अहिलेका दलका नेताहरुले गरिव र दलितको नाममा विभिन्न एनजीओ र आईएनजीओ भित्र्याउने काम गरेको भन्दै गुनासो पोखे । उनले यो समिति कुनैपनि दलमा आवद्ध नभई अलग्गै ढंगले अघि बढ्ने स्पष्ट पारे ।

उनले राज्यसँग आँफै उठेर अधिकार खोजी गर्नको लागि समिति गठन गरिएको स्पष्ट पारे । समितिले वर्तमान सरकारसमक्ष पाँच बुँदे माग बुझाएको छ । उनकाअनुसार समितिले देशैभरिका गरिवको पक्षमा न्याय र प्रवासमा बसेका नेपालीहरुको मुद्दा उठाएर कार्यक्रम गरेको छ । उनले भने,‘हामी यो देशका नागरिक हौं । हरेक दलले हामीलाई झुक्याएका छन् । अहिले देशभरिका गरिव, निमुखा र भूमिहीनलाई एकताबद्ध बनाएका छौं । यो हाम्रो अभियान हो ।’

अधिवक्ता कृतिनाथ शर्मा पौडेल अझैपनि न्यूनस्तर भएकाहरुलाई राज्यले आवश्यक सहजीकरण र सचेतना तथा आयआर्जनको कार्यक्रमसमेत ल्याउन नसकेको गुनासो पोखे । भूमिहीन दलितहरुलाई राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधाको लागि आफू निरन्तर लड्ने उनको प्रतिबद्धता छ । आफूले निःशुल्क कानूनी सेवा दिने पनि घोषणा गरे ।