बैङ्कक, १४ माघ । थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक गर्भनिरोधक खोप प्रयोग गरेको छ । वन्यजन्तु संरक्षण विभागका एक वरिष्ठ अधिकारीले बुधबार यसबारे जानकारी दिएका हुन् ।
वन्यजन्तु अधिकारी तथा पशु चिकित्सकहरूको टोलीले सोमबार दक्षिण–पूर्वी त्रात प्रान्तमा रहेका तीनवटा पोथी जङ्गली हात्तीलाई गर्भनिरोधक खोप लगाएको विभागका निर्देशक सुखी बुनसाङले जानकारी दिए । उनका अनुसार यो कदम जङ्गली हात्तीको जनसङ्ख्यालाई व्यवस्थित रूपमा नियन्त्रण गर्नका लागि चालिएको हो ।
पूर्वी थाइल्यान्डका पाँच प्रान्तमा हात्तीको जन्मदर वार्षिक आठ प्रतिशतले बढिरहेको छ, जबकि अन्य क्षेत्रमा यो दर करिब तीन प्रतिशत मात्र रहेको उनले बताए । यदि यही दर कायम रहिरहेमा दीर्घकालमा मानिस र हात्तीबीचको द्वन्द्व झन् गम्भीर बन्ने चेतावनी पनि उनले दिए ।
यस हप्ता पशु चिकित्सक र वन्यजन्तु अधिकारीहरूले एनेस्थेसिया प्रयोग नगरी डार्ट गनमार्फत खोप लगाएका थिए । संरक्षण विभागका अनुसार यो प्रक्रिया सुरक्षित रूपमा सम्पन्न गरिएको हो ।
थाइल्यान्डमा जङ्गली हात्तीको सङ्ख्या सन् २०१५ मा ३३४ मात्र रहेकोमा गत वर्षसम्म आइपुग्दा करिब ८०० पुगेको छ । सन् २०१२ यता मानव–हात्ती द्वन्द्वका कारण झन्डै २०० जनाको ज्यान गएको छ भने १०० भन्दा बढी हात्तीले पनि ज्यान गुमाएका छन् ।
एसियाली हात्ती थाइल्यान्डको राष्ट्रिय जनावर हो र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घले यसलाई विश्वव्यापी रूपमा खतरामा परेको प्रजातिका रूपमा वर्गीकृत गरेको छ ।
सुखीले खोप लगाइएका तीनवटै हात्तीमा कुनै पनि सङ्क्रमणको लक्षण नदेखिएको, तिनीहरू स्वस्थ रहेको र सामान्य रूपमा आफ्नो जीवन बिताइरहेको बताए । उनका अनुसार प्रत्येक छ महिनामा रगत परीक्षण गरेर अवस्थाको निगरानी गरिनेछ ।
यसअघि दुई वर्षअघि उत्तरी चियाङ माई क्षेत्रमा सातवटा बन्दी हात्तीमा यो खोपको परीक्षण गरिएको थियो । त्यसको सकारात्मक नतिजाका आधारमा अहिले जङ्गली हात्तीमा प्रयोग सुरु गरिएको उनले स्पष्ट पारे ।
यस वर्षको मे महिनादेखि वर्षायाम सुरु हुनुअघि अन्य क्षेत्रका गोठाला तथा वन आसपास रहेका हात्तीमा थप १५ डोज खोप प्रयोग गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए । रासस




प्रतिक्रिया