काठमाडौं, १५ माघ । नेकपा (एमाले) का नेता विशाल भट्टराईले विगतका नजिर, विद्यामान संविधान र कानूनका दृष्टिले संसद् पुनर्स्थापना हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग संवाद गर्र्दै उनले संसद् पुनर्स्थापना हुने देखिए पनि अदालतले बिलम्ब गरिरहेको बताए । अदालतले यस विषयमा सुनुवाइ नै गर्न नचाहेको उनको भनाइ छ ।
‘एमालेको स्पष्ट भिजन के हो भने सबैभन्दा पहिला संसद् पुनर्स्थापना गरौं । अदालतले किन बिलम्ब गर्दैछ थाहा छैन । बिलम्ब न्याय दिनुभनेको न्याय नदिनु सरह हो । संसद् पुनर्स्थापना विगतका नजिर, विद्यामान संविधान, कानून सबैका दृष्टिकोणले संसद् पुनर्स्थापना अवश्य पनि हुनुपर्ने हो । तर, अदालत सुनुवाइ गर्न चाहँदैन,’ उनले भने ।
साथै ‘केपी शर्मा ओलीलाई झापा ५ मा विरासत जोगाउन अप्ठ्यारो भएको हो ?’ भन्ने प्रश्नमा उनले ओलीलाई चुनाव जित्न कुनै गाह्रो नरहेको बताए । झापा ५ मा बालेन्द्र शाह आफू चुनाव जित्ने भन्दा पनि ओलीलाई हराउने सोच बोकेर गएको बताए । बालेनको उद्देश्य नै गलत रहेको उनको भनाइ छ ।
नेता भट्टराईले भने, ‘केपी शर्मा ओलीलाई झापा ५ बाट चुनाव जित्न कुनै गाह्रो छैन । त्यहाँ नामावली नभएको, योगदान नभएको मान्छे केपी शर्मा ओलीलाई हराउँछु भनेर, उद्देश्य नै गलत राखेर जानुभएको छ । त्यो उद्देश्य सफल हुँदैन । जे उद्देश्य राखेर बालेनजी जानुभएको छ, त्यो उद्देश्य नै गलत हो ।’




प्रतिक्रिया