काठमाडौं, १५ माघ । वरिष्ठ कुटनीतिज्ञ तथा राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा आफू आशावादी रहेको बताएका छन् । विस्तारै सबै दल निर्वाचनमा होमिएको उनको भनाई छ । निर्वाचनको तयारीमा होमिएको अवस्थामा दलका नेताहरु एक अर्काको गोलीगलौजमा नउत्रिएको पनि उनको भनाई छ ।
आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । देश बनाउने भीजन पूरानो र नयाँ दल कसैसँग पनि नभएको उनको टिप्पणी छ । पूरानाहरुसँग भिजन भएको भए र राम्रोसँग सरकार चलाएको भए यस्तो उथलपुथल नहुनेथियो भन्ने उनको टिप्पणी छ ।
उनले अहिले बालेन शाहको नाममा हावा चलेको भन्दै यो हावा कति दिन चल्ने हो भन्ने थाहा नभईकसकेको संकेत गरे । झापा–५ को चुनावी प्रतिष्पर्धाबारे बोल्दै बरालले भने,‘नयाँहरुले केही समयको लागि आकर्षण गराउन सक्छन्, त्यो कति टिक्छ ? राजनीतिमा टिक्न सक्नुपनि ठूला कुरा हो । धेरै पार्टी आएका छन्, हराएका छन् । जहासम्म झापा–५ को कुरा छ, स्वाभाविक रुपमा त्यहाँ बालेन बालेन भन्ने एउटा हौवा आएको छ, कति दिनलाई हो ? त्यो हावा कति दिनलाई हो चल्न ? ओलीजीकहाँ जानी जानी गएको हुनाले यसै भन्न सकिँदैन । ओलीजीको पनि पूरानो पकड छँदैछ । अनि अर्को कुरा बालेनको विरोधमा हर्क साम्पाङको फ्याक्टरले पनि काम गर्छ । अहिले यसै भन्न सकिँदैन । बालेनको विरोधमा हर्क साम्पाङ लागेको हुनाले त्यहाँ अलिकति फरक हुन्छजस्तो लाग्छ ।’




प्रतिक्रिया