कुनैपनि आत्मसमर्पण स्वीकार्य हुँदैन : ओली


काठमाडौं, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको निश्कर्ष निकालेका छन् । पार्टीले आगामी फागुन २१ गते हुन गईरहेको निर्वाचनको सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरुसँग सुझावका लागि छलफल गरेको र सो छलफलमा ओलीले यस्तो धारणा राखेको आम निर्वाचन–२०८२ प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

सो छलफलमा अध्यक्ष ओलीले एमालेले हाल भइरहेका राज्यका संयन्त्रहरुका गतिविधि र कामकारबाहीका विषयमा नजिकबाट नियालेर यस्तो निश्कर्ष निकालेका हुन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै ओलीले यसका रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताएको शाहीले जनाए ।

उनको भनाई उद्धृत गर्दै शाहीले भने,‘कुनैपनि आत्ममर्पण स्वीकार्य हुँदैन ।’ एमालेले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्नेगरि घोषणापत्रको तयारी गरेको पनि जनाईएको छ । file photo