काठमाडौं, १५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुद बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । आज निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
सो अवसरमा गृहमन्त्री अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको कुरा पनि विश्वास दिलाएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार गृहमन्त्री अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराएका थिए ।
आपराधिक तथा निर्वाचनविरोधी गतिविधिउपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनसमेत दिएको कुरा गृहमन्त्री अर्यालले स्पष्ट पारेका थिए । यस्तै, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा सरकारबाट प्राप्त भएको सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गरेका थिए । तस्बिरः प्रदीपराज वन्त/रासस




प्रतिक्रिया