काठमाडौँ, १५ माघ । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब ९ लाख रुपैयाँ बराबर सहयोग गरेको छ ।
नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ६१२८ अमेरिकी डलरबराबरको चेक हस्तान्तरण गरे ।
उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनर्स्थापनाका लागि यो रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिए । प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई-नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गरिन् ।
उनले नेपालमा अफ्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीहरुले गर्दै आएको सहयोगको सह्राहना पनि गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईँहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई-नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।”





प्रतिक्रिया