वायु सेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश


काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले निगमको महाप्रबन्धक छनोट प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो । रिट निवेदक चीरञ्जीवी उपाध्यायले निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा महाप्रबन्धक छनोट गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा गठित महाप्रबन्धक छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । समितिले उनीहरुसँग हिजो र आज (बुधबार र बिहीबार) अन्तरवार्ता तथा प्रस्तुतीकरण लिइसकेको छ ।

सर्टलिस्टमा परेका १० जनामा निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वार्चन, ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल, उपेन्द्रबहादुर कार्की, डा.दीपकप्रसाद बास्तोला, डा.भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत रहेका छन् ।