काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा अब डर, धाक, धम्की केही पनि नचल्ने बताएका छन् । यसअघि उक्त क्षेत्रमा डर, धाक, धम्की चल्ने गरेको आफूले जानकारी पाएको बताउँदै सभापति थापाले अब त्यो आफूहरुलाई सह्य नहुने बताए । सर्लाही ४ मा अब फियर गेम हुने र त्यसबाट आएको फैसला सबैले स्वीकार गर्नुपर्ने उनले बताए ।
‘यो ठाउँमा डर, धाक, धम्कीको कुरा पनि व्यापक हुँदोरहेछ । काठमाडौंबाट आएपछि थाहा पाएँ मैले । अब डर, धाक, धम्कीको युग सकियो यहाँ । सर्लाही ४ मा हिजो हुन्थो भने हिजो हुन्थ्यो, अब सकियो । झुठो मुद्दा लगाउने, यो गर्ने, त्यो गर्ने, सबै हिजोका कथा हुन्, अब सकियो । मलाई अतिरिक्त केही पनि चाहिँदैन । तर, यहाँ कोही साथीले अतिरिक्त डर, धाक, धम्कीको कुरा सह्य पनि हुँदैन । यहाँ फियर गेम हुन्छ, त्यसको आधारमा फैसलामा हामीहरु पुग्छौं,’– उनले भने ।
साथै, उनले पार्टी कमिटीका पदाधिकारीहरुलाई परिपत्रमा भनेअनुसारका समितिहरु बनाएर निर्वाचन केन्द्रीत गतिविधिमा लाग्न निर्देशन दिए । उनले एमाले, माओवादी, नयाँ पार्टी, पुरानो पार्टी केही पनि नभनी सबैको घर–घरमा पुगेर मत माग्न पनि आग्रह गरे ।
‘निर्वाचन समिति बनाएर, युवा परिचालन समिति, जे–जे परिपत्रमा भनेको छ, सबै बनाउने । घर–घर पुग्ने, एउटा पनि घर नछोड्ने । एमाले, माओवादी, नयाँ पार्टी, पुरानो पार्टी केही पनि नभनी सबै घरमा गएर सबै साथीहरुलाई अनुरोध गरेर यो पटक चुनावमा जानुपर्छ,’– सभापति थापाले भने ।
सभापति थापा यसपटक सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका छन् । सभापति थापाको प्रतिस्पर्धीको रुपमा कांग्रेस पृष्ठभूमिका डा.अमरेश कुमार सिंहलाई लिइएको छ । सिंहले सो निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर गत २०७९ को आम निर्वाचन जितेका थिए । सिंह यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् ।




प्रतिक्रिया